मंगलबार, असार १७, २०८२

जसपाले समय मागेपछि तीन दलको बैठक विना निष्कर्ष सकियो

नेपालखोज २०७७ चैत २७ गते १८:१७

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष सकिएको हो ।

३ बजे बस्ने भनेको बैठक जसपा नेताहरु ढिलो आएपछि ४ बजेपछि मात्रै सुरु भएको थियो । बैठक करिब ४५ मिनेट बसेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेका थिए ।

जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए । तर जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति हुन सकेन । जसपा नेताहरुले भने पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएपछि बैठक स्थगित भएको हो । बैठकमा जानुअघि जसपा नेताहरुले आन्तरिक छलफल समेत गरेका थिए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया