दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश

नेपालखोज २०७७ चैत २७ गते १८:४३

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताएका हुन् ।

उनले कोदो र तोरीले भिन्ना भिन्नै विशेषता बोकेको भएपनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले तीन वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए ।

उनले भने ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरुले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन । पिना मात्रै निस्कन्छ । तीन वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओली जीको शासनबाट । त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिंगाको भेद देख्नुभएन । म तपाईहरुलाई आग्रह गर्दछु । चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ,तिनलाई बदल्ने छौ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौ भनेर संकल्प लिनुपर्छ ।’

प्रतिक्रिया