भूमाफियाले कब्जा गरेको सरकारी जग्गा फिर्ता ल्याउँछौं : उपप्रधानमन्त्री पोखरेल

नेपालखोज २०७७ चैत २७ गते १९:३६

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको बताएका छन् । उनले देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको जानकारी गराए ।

काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोबी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गाको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरे पनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।

०७६ फागुन १३ गते सर्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले ०७७ चैत २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिह्न) राख्न पुगेका पोखरेलले गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने बताइन् ।

सो अवसरमा रातोपूल क्षेत्रका स्थानीयहरुले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पु¥याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् ।

प्रतिक्रिया