बुधबार, वैशाख १२, २०८१

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

मर्मतसम्भार एक दिन अगावै सकियो

नेपालखोज २०७७ चैत २९ गते १३:१३



काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिन अगावै अर्थात् आगमी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।


मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो । चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । छ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।


२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो । सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरि नहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।


जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चार केबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ । अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया