बिहीबार, वैशाख १३, २०८१

तीन काेराेना संक्रमितकाे मृत्यु

नेपालखोज २०७७ चैत ३० गते १०:४९

बुटवल । बुटवल र कैलालीमा गरी ३ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।   धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना र रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना गरी तीन कोरोना संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए । मृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको उनले बताए । उनको आज बिहान ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।    

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए । 

प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। दुवै जनामा निमोनियाको समस्या रहेको गौतमको भनाइ छ। बुटवलमा आइतबार पनि नवलपरासीका एक सक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया