शुक्रबार, वैशाख १४, २०८१

पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिँदै, लगानी एक करोड १५ लाख

नेपालखोज २०७७ चैत ३१ गते १२:२०

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । यसका लागि विभागले एक करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ट्राफिक बत्तीका केही सामान आएको छ केही आउने क्रममा रहेको ओझाले बताए ।

उनका अनुसार सामान आएकामा त्यसको ‘प्रोगामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । यी बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने, “यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।” -रासस

प्रतिक्रिया