बिहीबार, वैशाख १३, २०८१

बीमा दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक : अध्यक्ष सिलवाल

नेपालखोज २०७७ चैत ३१ गते १८:२३

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताए ।

बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशन समेत दिए । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

त्यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उनले बताए । रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दासम्म बीमा क्षेत्रको विकास सम्भव नभएको पनि अध्यक्ष सिलवालले बताए ।

जति सुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने पनि बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको योजनामा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र एकदेखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिम एकै पटकमा बहन हुनेछ ।

यदि कुनै बीमितले ७ लाख रुपैयाँको दुर्घटन बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा गर्न एक वर्षमा १ हजार ६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजिकरण गरेको बताएको छ । कुनैपनि बीमितले आफू अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिनभित्रमा लिखित वा मौखिक जानकारी दिनु पर्नेछ । इन्स्योरेन्सले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सनसहितका कागजपत्रलगायतका सबै कागजात बुझाई दाबी गरेको एक हप्ताभित्र रकम भुक्तानी गरिसक्ने पनि जनाएको छ ।

प्रतिक्रिया