जसपा नेताको दाबी – हाम्रै नेतृत्वमा सरकार बन्छ

नेपालखोज २०७७ चैत ३१ गते २०:३५

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले जसपाकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।

नयाँ सरकार बनाउन कांग्रेस र माओवादीसँग छलफल गर्दै आएको जसपाले वैकल्पिक पार्टीसँगको छलफल अन्त्य भएको जनाउँदै सरकारको नेतृत्व लिने संकेत गरेको हो । नयाँ वर्ष २०७८ को अवसरमा मंगलबार जनकपुरस्थित मधेस भवनमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान समारोहमा जसपा नेताहरूले सरकारको नेतृत्व लिने संकेत गरेका हुन् ।

जसपा नेता राजेन्द्र महतोले जसपाकै नेतृत्वमा सरकार बन्न सक्ने बताए । वर्तमान सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भए जसपाले आफ्नै नेतृत्वमा पनि सरकार बनाउन सक्ने बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए वा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराए, जसपाकै नेतृत्वमा सरकार बन्न सक्छ, ’उनले भने, ‘सरकारमाथि अविश्वासको प्रस्ताव आएपछि जसपाले उचित निर्णय गर्छ । आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावनाको खोजी गर्छ ।’ सत्ता समिकरण जसपाको प्रमुख एजेण्डा नरहेको भन्दै माग सम्बोधन गराउन अग्रसर रहेको उनले बताए ।

विगतमा कुनै पनि पार्टीले मधेशको मागप्रति चासो नदेखाएको उल्लेख गर्दै वर्तमान सरकार लचिलो देखिएको उनले संकेत गरे । ‘दुई सय आठजना नेता एवं कार्यकर्तामाथि लगाईको झुटा मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘सरकार यसप्रति सकारात्मक रुपले अघि बढ्ने संकेत पनि देखाएको छ ।’ वर्तमान सरकारसँग संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक, बन्दी रिहाइ र झुटा मुद्दा फिर्ता गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया