ओली र महन्थ ठाकुरबीचको सामिप्यता अस्वाभाविक : भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीचको सामिप्यता अस्वाभाविक रहेको बताएका छन् । उनले यस्तो साँठगाँंठ शंकास्पद भएकोसमेत तर्क गरेका छन् । भुसालले आफ्नै पार्टीलाई तहसनहस पारेका ओलीको ठाकुरसँगको सामिप्यतामा थुप्रै शंका गर्ने ठाउँ रहेको बताएका छन् ।
नेपाल पक्षको प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर माग र मुद्दाको कुनै साइनो नभएका ठाकुरसँग पुगेर हारगुहार गर्नु कम्युनिष्ट पार्टीकै लज्जाको विषय भएको बताए । उनले संसदमा वामपन्थीको मत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर महन्थहरूसँग गठबन्धन गर्नुले राजनीतिमा विसंगति आउन थालेको बताए ।
भुसालले ओलीले कुर्सीको अहंकार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको पनि टिप्पणी गरेका छन् । उनले थपेका छन् ओलीले बिगारेको राजनीतिको जिम्मेवारी लिने हिम्मत गरे र कुर्चीमा बस्ने अहंकार छाडे वाम गठबन्धन अझै नतुहिएको पनि उनको तर्क छ ।

प्रतिक्रिया