मध्यपहाडी राजमार्गको हेमजा खण्डको सडक निर्माण असारमा सकिने

नेपालखोज २०७८ वैशाख ३ गते १०:२४
s curve road

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ ।

गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको आयोजनाका इञ्जिनीयर अनन्त बरालले जानकारी दिए । सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ ।

‘चालु आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ । अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौँ’, इञ्जिनीयर बरालले भने ।

प्रतिक्रिया