बुधबार, वैशाख १२, २०८१

फेसन इभेन्ट्स्मा २०७७ साल कस्ताे रह्याे ?

रोजिन शाक्य २०७८ वैशाख ३ गते १२:१३

काठमाडौं । बिसं २०७७ अन्तर्गतको फेसन, मोडलिङ र सौन्दर्य सम्बन्धी इभेन्टहरु कोरोना महामारीका कारण प्रभावित बनेको पाइयो । वर्षको करिब ६ महिना उल्लेखित गतिविधिहरु लगभग पूर्णबिराम नै लाग्यो । केही प्रतियोगिताहरु अनलाइन भर्सनमै संचालनमा आए पनि ती प्रस्तुतिले औपचारिकता मात्र निर्वाह गरेको अनुभूति भयो । लकडाउन खुकुलो हुँदै गएपछि बिस्तारै सीमित दर्शक संख्याको उपस्थितिमा फेसन र सौन्दर्य सम्बन्धित गतिविधिहरुले गति लिएको अवस्था छ ।

लकडाउन खुल्दै गएसंगै नेपालकै जेठो सौन्दर्य प्रतियोगिताको रुपमा कहलिएको मिस नेपाल प्रतियोगिताको तयारीले पनि गति पायो र यो आयोजना सम्पन्न भएसंगै नेपाली फेसन, मोडलिङ र सौन्दर्य प्रतियोगिता इभेन्टहरु अनलक भएको अवस्था रह्यो । यो परिस्थिति वर्ष २०७७ को उत्तराद्र्ध अर्थात् मंसीर महिना यताबाट मात्र संभव हुन पुगेको थियो ।

हुनतः मिस नेपाल २०२० आयोजनाको आधिकारिक घोषणा गएको फेबु्रअरी महिनाको २४ तारिखमा दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् भएको थियो । काठमाडौंमा तय गरिएको फाइनल अडिसन भने बाँकी थियो । तर यहीबीच कोभिड १९ कारण नेपाल सरकारले देशैभरि लकडाउन लागु गरेपछि मे १५ २०२० का लागि तय गरिएको मिस नेपाल २०२० को ग्राण्ड फिनालेको कार्यक्रम संगै यो सम्बन्धीत सबै गतिविधिहरु स्थगित हुन पुगेको थियो । । गएको नोभेम्बर पहिलो साता मात्रै फाइनल अडिसनको कार्यले गति पायो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तर्जूमा गरेको कोभिड १९ सम्बन्धित स्वास्थ सुरक्षा र सतर्कताका सम्पूर्ण मापदण्डहरुलाई पालना गरी बुढानिलकण्ठ स्थित पार्क भिलेज रिर्सोटमै फाइनल अडिसन सम्पन्न भएको थियो । सोही रिसोर्टको पन्ध्र दिने आवासीय प्रशिक्षण पश्चात् गएको डिसेम्बर ५ अर्थात् मंसीर २० गते शनिबारका दिन सोही स्थानमा द हिडेन ट्रेजर मिस नेपाल २०२० को ग्राण्ड फिनाले सम्पन्न भएको थियो ।

ग्राण्ड फिनालेको अन्तिम उद्घोषण थियो मिस नेपाल वल्र्ड २०२० को विजेताको नाम । जसमा प्रतियोगि अंक १८ भिरेकी नम्रता श्रेष्ठको नाम उच्चारण भयो । यो संगै नम्रताले मिस नेपाल वल्र्ड २०२० को ताज पहिरिन सफल भएकी थिइन् ।

मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनालेको प्रभाव सेलाउन नपाउँदै अर्को वृहत् सौन्दर्य प्रतियोगिताले गत डिसेम्बर महिनाको ३० तारिख अर्थात् पौष १५ गते बूधबार साँझ ६ बजे नेपाली सौन्दर्य प्रतियोगिताको पृष्ठभूमिमा मिस युनिभर्स नेपाल २०२० नामक नयाँ सौन्दर्य प्रतियोगिताको शुभारम्भ भएसंगै पहिलो मिस युनिभर्स नेपाल २०२० को ताज पहिरिन सफल भइन् २४ वर्षिया अंशिका शर्मा । नियमित रुपमा प्रस्तुत हुँदै आएको घरेलु प्रतियोगिताहरु भन्दा केही फरक प्रस्तुतिकरणका साथ आयोजना गरिएको मिस युनिभर्स नेपाल २०२० काठमाडौं नक्सालस्थित काठमाण्डू मेरियोट होटलमा सम्पन्न भएको थियो । जहाँ प्रतियोगिताका अन्तिम १८ प्रतिस्पर्धीहरुलाई एक साताको आवासिय प्रशिक्षण प्रदान गरिएको थियो ।

ठूलो ब्रान्ड मानिएको मिस नेपाल र मिस युनिभर्स नेपाल जस्ता आयोजनाले गति पाए संगै यस क्षेत्रका गतिविधिहरु ह्वात्तै बढेको पाइयो । वर्ष २०७७ को पछिल्लो पाँच महिनामा राजधानी केन्दित रहेर साना ठूला गरी साठी भन्दा बढीको संख्या सौन्दर्य प्रतियोगिताहरु संचालनमा आए । फेसन कार्यक्रमको संख्या भने दर्जनको हाराहारीमा देखिए । यी मध्ये अधिकांश आयोजनाहरु मझौला होटल तथा रिसोर्टहरु, बैंक्वेट, पार्टी प्यालेस, क्लब तथा ठूलो लाउन्ज तथा रेष्टुराँमा संचालन भए । ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हल पनि यस प्रकारका आयोजनाका लागि राम्रो गन्तव्यका रुपमा देख्न पाइयो । जमलस्थित राष्ट्रिय नाचघर तथा कमलादीस्थित प्रज्ञा भवन खुलेसंगै विस्तारै ती स्थानमा पनि सौन्दर्य प्रतियोगिताहरु मंचन हुने क्रम बढ्न थालेको पाइयो ।

लकडाउन पछि सौन्दर्य प्रतियोगिताको गतिविधिमा उल्लेख्य प्रगति भएको देखिए पनि सहभागिको संख्यामा भने ह्रास आएको महशुष भयो । यो अवधिमा संचालनमा आएका अधिकांश कार्यक्रमहरुमा सहभागिहरुको संख्या अत्यन्त न्युन देखियो । आयोजकहरु ७ जनासम्म पनि प्रतिस्पर्धीहरु वीच प्रतियोगिता संचालन गर्न बाध्य देखिए । अर्कोतिर यसप्रकारको कार्यक्रममा प्रायोजकको उपस्थिति लगभग नभए सरह नै देखियो । दर्शकको उपस्थिति पनि निकै पातलिएको देख्न पाइयो ।

वर्ष २०७७ मा फेसन मोडलिङ सम्बन्धी अवार्ड कार्यक्रमहरु बढेको पाइयो । अघिल्ला वर्षहरुमा यस प्रकारको अवार्ड कार्यक्रमको आयोजना खासै भएको देखिएको थिएन भने यस पटक फेसन मोडलिङ र ब्युटी प्याजेन्ट विधामा नै केन्दित भएर फेसन एण्ड मोडल अवार्ड, फेसनफेयर अवार्ड सम्पन्न भयो भने मोडल सङ्स अवार्ड, नेसनल इन्टरटेन्मेन्ट अवार्डले फेसन मोडलिङ क्षेत्रलाई प्राथमिकतामा राखेको पाइयो । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरु प्रायः ठप्प नै रहेको अवस्थामा नेपालको तर्फ वर्षको अन्ततिर थाइल्याण्डमा सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल २०२० नेपालका तर्फबाट अम्बिका जोशी राणाले प्रतिनिधित्व गरिन् भने इजिप्टमा सम्पन्न मिस ईको इन्टरनेसनल २०२१ नेपालका तर्फबाट अनुष्मा रायमाझीले प्रतिस्पर्धा गरिन् । उनले प्रतियोगितामा मिस ईको एशियाको अवार्ड उचाल्न सफल भइन् ।

वर्षको अन्ततिर आएर आईआईएफटीले करिब सय जना विद्यार्थी डिजाइनरको सहभागितामा ड्रेस टू इम्पे्रस नामक डिजाइनर प्रतिस्पर्धा सम्पन्न ग¥यो भने यही समयमा शारारिक अपाङ्गता भएकाहरुमा केन्दि«त मिसेस् एण्ड मिस डिसएबिलिटी क्वीन पनि संचालनमा आयो । वर्षकै सबैभन्दा ठूलो, हालसम्मकै सर्वाधीक चर्चित र वृहत् मानिएको मोडल हन्ट नेपाल प्रतियोगिताको पछिल्लो संस्करण काठमाडौंको सोल्टी होटल सम्पन्न भयो भने सोही स्थानमा चैत्र ३० गते नमूना कलेज अफ फेसन टेक्नोलजीले आफ्नो १५ औं ब्याचको ग्राजुएसन फेसन शोलाई भव्यता पूर्वक सम्पन्न ग¥यो । र यही स्तरीय फेसन शोको स्वाद चाख्दै वर्ष २०७७ को क्यालेन्डरले बिदा माग्यो ।

प्रतिक्रिया