मंगलबार, वैशाख ११, २०८१

निरंकुश शक्तिहरु पूरै परास्त भएका छैनन् : प्रचण्ड

नेपालखोज २०७८ वैशाख ३ गते १३:४१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तानाशाही र निरङ्कुश शक्तिहरु एकचोटी परास्त भए पनि तिनीहरु पुरै परास्त अझै नभएकाे बताएका छन् । सरकाले स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको बताएका छन् । उनले कतिपय मान्छेले त संघीयतासमेत ध्वस्त पार्न खाेजेकाे पनि आराेप लागाएका छन् ।

उनले भने ‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरी केन्द्रका केही सिमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुट्ठीभर मान्छेहरुले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

आज शुक्रवार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने बताए ।

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको बताए । उनले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको बताएका छन् । उनले थपेका छन् ,प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको पनि आरोप लगाएका छन् ।

उनले भने ‘तानाशाही र निरङ्कुश शक्तिहरु एकचोटी परास्त भए तर तिनीहरु पुरै परास्त अझै भएका छैनन् । उनीहरुको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरित गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यि सबै षड्यन्त्र स्वीकार्य छैन ।’

प्रतिक्रिया