बिहीबार, वैशाख १३, २०८१

नेपाली समाजमा एकल महिलाका संघर्ष र चुनौती

अम्बिका शर्मा २०७८ वैशाख ३ गते १६:१३

नेपाली समाजमा एकल महिलाको अवस्था विदेशीको जस्तो सहज छैन । नेपालमा परम्पराका कुरीतिहरुलाई प्रश्रय दिने मानिसहरु प्रशस्त पाइन्छन् । श्रीमान् बितेका कारण एकल भएका महिलाहरुलाई नेपाली समाजले बोक्सी र लोग्ने टोक्ने भनेर आरोप लगाएको हामी सुन्छौं । अर्कोतर्फ वैवाहिक जीवनलाई अगाडि बढाउन नसकिने अवस्थामा पारपाचुके गर्न विवश महिलाहरुलाई छाडा आइमाई भनी तिरस्कार गर्ने पुरुषवादी सोच हाम्रो समाजमा छँदै छ । यस्तो कहालीलाग्दो अवस्था सिर्जना नेपालमा परम्परागत कुरीति र समाज महिलाप्रति अनुदार हुनुले भएको हो ।

विवाह गरेको केही समयमै लोग्ने गुमाएका महिलाहरुलाई ग्रामीण समाजमा अझै पनि लोग्ने खाने बोक्सी भनेर आरोप लगाइन्छ । तिनीहरुलाई मानसिक र शारीरिक पीडा दिने काम हुन्छ । त्यसरी लोग्ने गुमाएका धेरै महिलाहरुलाई समाजले व्यवस्थापन गर्नुको साटो जीवनभर लाञ्छना र यातना दिइरहेको हुन्छ । यस्तो पीडा भोग्ने धेरै दिदी-बहिनीको कथा सञ्चारमाध्यमबाट बाहिरिने गरेको छ । त्यस्ता कथाहरु बाहिर आउँदा लाञ्छना लगाउनेहरु नै सामाजिक सन्जालमा दु:ख लाग्दो घटना भनेर गोहीको आँशु बगाइरहेका हुन्छन् । यस्ता समस्याहरु नेपाली समाजको काँडा बनेर रहेको कुरा सार्वजनिक सत्य हो । यी महिलाहरुले बाँचेको जीवन कम कहालीलाग्दो र संघर्षपूर्ण छैन ।

अर्कोतर्फ पारपाचुके गरेका महिलाहरुलाई समाजले छाडा महिलाको संज्ञा दिँदै आएको छ । त्यस्ता महिलाहरुले राम्रो कपडा लगाउँदा, हिँड्दा, खाँदा, कतै बाहिर निस्कँदा, कसैसँग भेट्दा अनेक शंका-उपशंकाले हेर्ने र तिनलाई लाञ्छना लगाउने काम हाम्रो समाजमा हुँदै आएको छ । तिनीहरुलाई स्वतन्त्र रुपमा काम गर्ने र समाजसँग घुलमिल हुने वातावरण नै दिइन्न । सायद हाम्रो समाज पिछडिनुको कारण पनि यही नै हो ।

यी सामाजिक परिबन्धहरुबीच पनि नेपाली महिलाहरु हारेका छैनन् । यी तमाम समस्यालाई सहँदै तिनीहरु संघर्षपूर्ण जितका खातिर अगाडि बढिरहेका छन् । अनि बाटामा कैयन् यस्ता ऐंजेरुहरु आइपर्छन् जो पुरुषवादी सोचको सिँढीमा बसेर तिनलाई खिस्याइरहेका हुन्छन् ।

सीमित ठाउँमा त्यस्ता लान्छना र उपहासको पात्र बनेर पनि तिनीहरु जीवनसँग हार्दैनन् र संघर्ष गरिरहन्छन् । अनि बरु अलिक टाढा गएर बसौं भन्दै तिनीहरु बाहिरिन्छन् । कोही विदेशिन्छन् र संघर्ष गरिरहन्छन् । तिनलाई पुरानो समाज त्याग्दा पनि यी समस्याहरु भने ज्यूँ का त्यूँ हुन्छन् ।

एकल महिलाहरुले समाजबाट हेपिनुपरेको कुरा कसैबाट छिपेको छैन । दूरदराजका महिला दिदीबहिनीहरुले यस्तो समस्या हरेक दिन खेप्नुपरेको छ । सहरको अवस्था पनि सुखद् छैन । एकल महिलाहरुलाई कमजोर ठानेर यौन प्रस्ताव राख्‍ने, अश्लील म्यासेजहरु गर्ने, हेप्ने, तँलाई रक्षा गर्ने को नै छ र भनेजसरी व्यवहार गर्ने, अनावश्यक हल्ला फिँजाएर चरित्र हत्या गर्नेसम्मका काम समाजका चिनिएकै र प्रतिष्ठित मान्छेहरुले पनि गरिरहेका हुन्छन् । त्यसका प्रति जति आवाज उठाए पनि कमै हुन्छ ।

एकल महिलाको हकमा घरेलु हिंसाका अतिरिक्त मानसिक तनाव पनि दिएर तिनलाई मनोविक्षिप्त हुन बाध्य तुल्याउने काम हाम्रै वरिपरि भइरहेको छ । घर परिवारकै व्यक्तिहरुबाट पनि तिनीहरु यौनिक र मानसिक शोषणमा परिरहेका छन् । तिनले त्यस्ता घटनामा प्रतिकार गरेको खण्डमा समाजले महिलालाई नै दोषी देखाइदिने अवस्था ज्यूँका त्यूँ छ । यसका लागि महिलाहरुले आवाज नउठाएका पनि होइनन् तर हाम्रो समाजको दृष्टिकोण परिवर्तन भइसकेको छैन । एक्काइसौं शताब्दीको उत्तरार्धमा पनि नेपाली महिलाहरुले महिला अधिकारको लागि वर्गसंघर्ष गर्नु परेको कुरा साह्रै दुखद् छ ।

गरिब महिलाहरुले मात्र यो समस्या भोगेका छैनन् । अपितु धनी परिवारका महिलाहरु झनै यो समस्याबाट ग्रसित छन् । समाजका अग्रपंक्तिमा देखिएका महिलाहरुमाथि पनि यौनजन्य हिंसा र मानसिक हिंसा भइरहेको छ । अझ उनीहरुले त्यस्तो अवस्थामा आफूले कमाएको नाम प्रतिष्ठा र इज्जत जाने डरले यस्ता कुराहरु बाहिर ल्याउन सकेका छैनन् । त्यसका सामाजिक चुनौती र व्यावहारिक पाटो त उथलपुथल नै छ । यस्ता घटना बाहिर ल्याउँदा बाबुबाजेको इज्जत र प्रतिष्ठा खरानी हुने डरले महिलाहरु यसकाविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । यस किसिमको व्यावहारिक पाटोलाई हामीले ख्यालै गर्न सकिरहेका छैनौं । यस्तो अवस्थालाई चिर्न हामीले गहिरिएर नयाँ कदम चाल्नु आवश्यक रहेको महसुस हुन्छ ।

विभिन्न अवसरहरुमा पनि एकल महिलालाई यसले के गर्न सक्छे र भन्दै पुरुषहरुलाई अवसर दिने काम हाम्रै समाजबाट भएको छ । राजनीति, अर्थ, व्यापार, कला साहित्य र सामाजिक उत्तरदायित्व आदि क्षेत्रमा महिलाहरुलाई अवसर नदिएर पन्छाइने गरेको तथ्य हामी कसैबाट लुकेको छैन । ती अवसरहरुमा एकल महिलाहरुलाई सक्षम भए पनि यसले सक्दिनँ भनेर पन्छाउने काम हुन्छ । असलमा ती साँच्चै चुनौतीलाई सामना गर्न सक्षम भए नभएको जाँच नै गरिँदैन । ती महिलाहरुले समाज र देशका लागि पस्कन सक्ने सक्षमताको विचार नै नगरिनु अत्यन्त लज्जाको विषय हो । सक्षम भएका महिलाहरुलाई पनि द्रोणाचार्यले एकलव्यको बूढीऔंला काटे जसरी एकलव्यको जीवन बाँच्न विवश बनाइएको देख्दा मन अमिलो हुन आउँछ ।

एकल महिलाहरुलाई आफ्नो बालबच्चाको होसियारीपूर्वक पालनपोषण गर्न कम चुनौती छैन । समाजमा आफ्नो पहिचान बनाउन त तीलको पहाड सिर्जना गर्न जत्तिकै कठिन छ । घर परिवार सम्हाल्न सामाजिक हैसियत कायम गर्न तिनले धेरै ठूलो कठिनाइसँग जुध्नुपर्ने हुन्छ । पुरुषवादी पापी नजर त्यसमा खुसी हुनै सक्दैन । उनीहरुले सानो सफलता पाएको खण्डमा पनि तिनलाई होच्याउन, गिराउन र पछार्न अनेक किसिमका शक्तिहरु लागिरहेकै हुन्छन् । समाजमा तिनले अनेक संघर्षका पहाडको यात्रा गर्दै एउटा असल मान्छेको पहिचान बनाए पनि तिनीहरुमाथि अनेक किसिमका व्यभिचार र यौनिक दुराचारको आरोप लगाइन्छ । समाजको बांगो आँखा तिनीहरुमाथि सीधा हुन सकेको छैन । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ भन्ने शास्त्रीय वचनलाई मुखमा जपे पनि हाम्रो समाज आमाका अधिकारको रक्षा गर्न नतम्सिनु खेदको विषय हो । मातृशक्तिले आखिर कहिलेसम्म यस्तो दर्दनाक समस्या भोग्नुपर्ने हो ?

नयाँ वर्ष २०७८ ले समाजमा महिलामाथि हुने हरेक कुरीतिको अन्त्य गर्न सकोस् । सबैमा शुभकामना ।

प्रतिक्रिया