शनिबार, वैशाख १५, २०८१

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुग्यो : नेतृ शाक्य

नेपालखोज २०७८ वैशाख ३ गते १९:३८

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरकी छन् ।

नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने स्थितिमा पुगेको बताइन् । अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सि जोगाउने खेलमा लागेको आरोपसमेत लगाइ ।

अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यले बताइन ।अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगें भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताइन् । त्यही दम्भका कारण अहिले देश अप्ठेरोमा परेको पनि उनले बताइन ।

उनले भनिन, ‘मलाई लाग्छ उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमण्ड छ, उहाँलाई ठूलो पदमा पुगें अब जीन्दगीमा कहिल्यै पुग्ने छैन, त्यसैले अब मैले कोसँग माफि माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ ? पर्दैन, म ठूलो ठाउँमा पुगें प्रधानमन्त्री जस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्ष जस्तो ठूलो ठाउँमा पुँगे भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठेरोमा परेको छ ।’

नेतृ शाक्यले आफूहरु नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पारिन । तर अहिले अध्यक्ष ओलीले पार्टीलाई विचार विहिन, विधि मिचिएको र विधि समाप्त पार्टीको रुपमा खडा गर्न खोजेको आरोप पनि लगाइन ।

त्यस्तै, नेता सुरेन्द्र पाण्डेले अहिले ‘आईलभयु’ केपी बा भन्नेहरु यस अघि ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्नेहरु जस्तै हराएर जाने बताए । अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समय पछि उनीहरुले छाडेर जाने निश्चित भएको पनि बताए । त्यस्तो अवस्था एक वर्षभित्रमै आउने उनको भनाई छ ।

नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले पार्टीलाई बिलयो बनाउँदै बामपन्थीबीच, कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताए ।

प्रतिक्रिया