बुधबार, वैशाख १२, २०८१

मौसम खराबीले उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट

नेपालखोज २०७८ वैशाख ३ गते २२:००

काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ ।

मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तरराष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाईभर्ट गरिएको छ ।

दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दिल्लीबाट काठमाडौँ आउँदै गरेकामा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।

आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ्ग÷हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया