आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल

काठमाडौं । बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए ।
‘सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ’, अधिकारीले भने, ‘गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।’
अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिए ।
त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गरे ।
‘हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृशिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ’, लामाले भने, ‘यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुङ्गा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ ।’
आम्दानी पनि बढ्यो
सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले एक करोड १७ लाख आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै एक करोड ८० लाख आम्दानी गरिसकेको छ ।

प्रतिक्रिया