बिहीबार, वैशाख २३, २०७८

‘केही मानिसले संघीयतालाई खारेज गर्ने र पालिकालाई दिएको अधिकार खोस्ने सपना देखे’

नेपालखोज २०७८ वैशाख ४ गते १:००

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मानिसहरूले सङ्घीयतालाई खारेज गर्ने र पालिकालाई दिएको अधिकार खोस्ने सपना देखेको बताएका छन् । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली नागरिकलाई मान्य नहुने उनको भनाई छ ।

शुक्रवार ‘वाग्मती प्रदेश कराँते च्याम्पियनशिप-२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि गर्ने काम भएको पनि आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उनले त्यस खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको बताए । नेपालीहरूलाई राष्ट्र हित विरोधी षड्यन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताए ।

‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटि परास्त भए तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरूको कसरत, षड्यन्त्र नेपाल र नेपाली नागरिकका विरुद्ध चलिराखेको छ,’ उनले भने, ‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली नागरिकको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली नागरिक, स्वस्थ नेपाली नागरिक, बलिष्ठ नेपाली नागरिकलाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

प्रतिक्रिया