रक्षा बन्धन : जनकपुरधाममा अढाइ करोडको मिठाई बिक्री

जनकपुरधाम । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस भएको बताएका छन् ।
होटेल व्यवसायी सङ्घ धनुषाका उपाध्यक्ष एवं हंसराज मिठाई पसलका सञ्चालक सन्तोष गुप्ताले राखी पर्वका अवसरमा जनकपुर बजार क्षेत्रमा मात्रै अढाइ करोड बराबरको मिठाईको व्यापार भएको बताए । उनले गत वर्षको तुलनामा व्यापार कम भए पनि अन्य समयको तुलनामा आज राम्रो व्यापार भएको जानकारी दिए । रघुपति मिष्ठान भण्डारका सञ्चालक सन्तोस साहले पनि यसपालिको मिठाई व्यापार सन्तोषजनक रहेको बताए । उनले आफ्नो पसलबाट मात्रै रक्षा बन्धनका अवसरमा १६ क्विन्टल मिठाइको व्यापार भएको र दसैँतिहारमा अहिलेको तुलनामा दोब्बर व्यापार हुने गरेको जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले अरु व्यापारको तुलनामा होटल तथा मिठाई व्यवसाय चलायमान रहेको र चाडपर्वको समय आउन लागेकाले मिठाई व्यापारले गति लिने विश्वास व्यक्त गरे । मिठाईबाहेक राखीको व्यापार पनि करिब रु २५ लाखको भएको अनुमान रहेको अध्यक्ष महासेठले बताए । रक्षा बन्धन विशेषगरी तराईमधेस र मारवाडी समुदायले मनाउने गरेका छन् ।
यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वाससहित रक्षा बन्धन (विशेष धागो) बाँध्ने प्रचलन छ । दिदीबहिनीले दाजुभाइलाई मिठाईसहितको खानेकुरा दिने र दाजुभाइले शक्तिअनुसारको उपहार दिने गरेका छन् । जनकपुरमा विभिन्न प्रकारका मिठाईको मूल्य रु पाँच सयदेखि एक हजार चार सयसम्म रहेको छ । आज वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट पनि रक्षा सूत्र (डोरो) बाँध्ने गर्दछन् ।
प्रतिक्रिया