शुक्रबार, वैशाख १४, २०८१

त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

नेपालखोज २०७८ वैशाख ४ गते २०:३१

काठमाडौं । कुशल भुर्तेल र आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो ।

डेब्यु खेलमा ओपरनद्वय कुशल र आशिफले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दा ४६ बलको सामना गरेका कुशलले ५ चौका ५ छक्काको मद्दतमा ६२ रन जोडेका थिए । कुशल क्याच आउट भएका थिए । सुरुआतबाट नै विस्फोटक इनिङ खेलेका कुशललाई आसिफले साथ दिएका थिए । कुशल पवेलियन फर्किएपछि चलेका आशिफले ४ चौका र ४ छक्काको मद्दतमा व्यक्तिगत ५४ रन जोड्दा अविजित रहेका हुन । ज्ञानेन्द्र मल्ल ११ रनमा नट आउट रहे ।

पहिलो विकेटका लागि भएको १ सय १६ रनको साझेदारी नेपाली ट्वान्टी–२० क्रिकेटमा कीर्तिमान रह्यो । डेब्यु खेलाडीले बनाएको कीर्तिमानलाई यस अघि भएको १ सय ८ रनको साझेदारी तोडिएको हो । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले बनाएको कीर्तिमान भंग भएको हो ।

घरेलु दर्शकको साथ पाएको नेपाली टोलीविरुद्ध बलिङ गर्दा युलियन डे मेको नाममा एक विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेदरल्यान्ड्स तेस्रो ओभरमा१२ रन हुँदा २ विकेट गुमाएको थियो ।

टिमका लागि दोस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारेका थिए । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान गर्दै पवेलियन फर्किएका थिए ।

ेस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापबाट पवेलियन फर्काएका थिए । त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँग ६१ रनको साझेदारी गरे । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए ।

उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत बन्यो । नेदरल्यान्ड्सले चौथो विकेटको सबै भन्दा धेरै रन बनाएका बास डे लीडेलाई गुमायो । उनी ४१ रनमा पेभिलियन फर्किएका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे ।

त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ भने पराजित नेदरल्यान्ड्सले भोलि मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृंखलाको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया