बुधबार, वैशाख १२, २०८१

फ्लोर क्रस गर्ने कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित, प्रकाश ज्वालालाई भने कारबाही सिफारिस

नेपालखोज २०७८ वैशाख ४ गते २०:५४

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रकाश ज्वालालाई भने कारबाहीको सिफारिस मात्र गरिएको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य रहेकाले कारबाहीको सिफारिस मात्र गरिएको नेता यामलाल कँडेलले जानकारी दिए ।

चारै सांसदलाई कारबाही गर्न हिजो (शनिबार) नै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । ज्वालासहित चार सांसदले पार्टीको ह्‌विपविपरीत शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको पक्षमा मत दिएका थिए । एमालेका चार सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका थिए ।

प्रदेश कमिटीको सिफारिस केन्द्रले सदर गरे उनीहरुको सांसद पदसमेत गुम्‍नेछ ।

प्रतिक्रिया