अधिनायकवादी सरकार देश खोक्रो बनाउन लागेको छ : डिला संग्रौला

नेपालखोज २०७८ वैशाख ५ गते ११:२१

बाग्लुङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अधिनायकवादी सरकार देश खोक्रो बनाउन लागेको बताएकी छन् । उनले अबकाे सरकार कांग्रेसकै नेतृत्वमा बन्ने पनि बताएकी छन् ।

नेपाल प्रेस युनियन बाग्लुङले आइतबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले यस्ताे बताएकी छन् । उनी हाल संघीय संसद सदस्यसमेत रहेकी छन् ।

फरक प्रशंगमा उनले ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हस्ताक्षेप गर्ने, संविधानमाथि प्रहार गर्ने सरकार अब धेरै दिन टिक्दैन‚’ भन्ने पनि दाबी गरिन् । संग्रौलाले थपिन् ‘अधिनायकविरुद्ध प्रदेशबाट सन्देश दिने काम सुरु भएको छ। हेर्दै जानुहोस्, नयाँ वर्षको उपहार नयाँ सरकार आउँछ।’

कांग्रेस नेतृत्वको सरकारले एमसिसी पास गर्ने पनि उनको दाबी छ। कांग्रेस एमसिसीकाे पक्षमा रहेकाे पनि उनले बताएकी हुन् ।

नेतृ संग्रौलाले सरकार देश खोक्रो बनाउन लागिपरेको आरोप लगाएकी छन्। सरकारले आफू निकट कार्यकर्तालाई भर्ती गर्न नचाहिएका आयोग तथा निकायहरूको गठन गरेको पनि उनको दाबी छ।

‘आफ्ना कार्यकर्ता भर्ती गर्न सरकार तल्लीन छ। त्यसका लागि नचाहिएका आयाेग पनि गठन भएका छन्‚’ उनले थपेकी छन्, ‘अधिनायकवादी सरकार देश खोक्रो बनाउन लागेको छ।’

सरकारबाट जनता सुरिक्षित नभएकाे उल्लेख गर्दै उनले भनिन्‚ ‘जनताले सरकारबाट पनि असुरक्षित महसुस गरेका छन्।’

विकास निमार्णका कामलाई सरकारले खेलाँची ठानेकाे आराेप लगाउँदै उनले थपिन् ‘स्विच थिचेर बाटोको उद्घाटन हुन्छ, काम हुँदैन्‚’ संग्रौलालले भनिन्‚ ‘हेर्नुस त सरकारले अस्पताल शिलान्यास गरेको ठाउँहरुमा जग्गा समेत भेटिँदैन।’

प्रतिक्रिया