‘देश र नागरिकको हितमा काम गर्न कसैले रोक्दैन’

नेपालखोज २०७८ वैशाख ५ गते १८:५१

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विवेकले देश र नागरिकको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताएका छन् । आइतवार काठमाडौंमा पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने पनि बताए ।

शनिवार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाए। कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसङ्ग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए। कसैले काम गर्न अवरोध गरेर रोक्न खोजे पनि नरोकिने उनले बताए ।

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले नागरिकको अभिमतलाई मान्य हुने गरी निर्णय गर्ने प्रष्ट पारे ।

सङ्घीय संसद्लाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरिएको सभामुख सापकोटाले बताए । संसद्को काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि उनको भनाइ छ । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको उनले बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई वशमा पार्न नसकिने सापकोटाले बताए ।

प्रतिक्रिया