नेपाल-खनाल समूहबिनै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने तथा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको भट्टराईले बताए । जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने पनि बैठकको एजेण्डा बनाइएको छ । उप–निर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ ।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठकमा पार्टीका वरिष्ठनेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने सहभागि नहुने बताइएको छ ।
यस्तै, बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ । ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए । बुढा, शाही र थापालाई शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो ।लगत्तै, उनीहरूको सांसद पद खारेजीका लागि केन्द्रमा सिफारिस पठाएको थियो । उनीहरू तीन जनाले आइतबार मन्त्री पदको सपथ लिइसकेका छन्।
यसअघि हिजो नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया