सरकारले संसद्को मानमर्दन गर्‍यो : सिंह

नेपालखोज २०७८ वैशाख ६ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हठाथमा संसद् स्थगित गरेर संसद्‌को मानमर्दन गरेको बताएका छन् । सरकारले संसद्‌को सामना गर्न नसकेर पटक-पटक प्रहार गरेको सिंहले दाबीसमेत गरे ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा नेता सिंहले अलोकतान्त्रिक कदम उठाउने वर्तमान सरकारले संसदीय व्यवस्थामाथि प्रहार गरेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास जारी राखेको बताए । ‘ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।

साथै उनले पत्रकारहरुले वास्तविक, निष्पक्ष ढंगले कलम चलाएर देश र जनाताको पक्षमा काम गर्नुपर्ने बताए । कसैको डर धम्कीसँग नडराई निष्पक्ष ढंगले पत्रकारिता गर्न पनि उनले आग्रह गरे । समाज परिवर्तन र समाजमा रहेका विकृति, विसंगतिहरु हटाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

फरक प्रसंगमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको दाबी गरे । ‘ओली सरकारले राजनीतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन,’ उनले भने, ‘यो सरकारले विकास निर्माणका कार्य केही नगर्ने तर जनतामा भ्रम सिर्जना गरिरहेको छ । विकासभन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागिपरेको छ ।’

साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने पनि बताए । ‘संबिधान मिच्‍ने अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन । नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन्‍नँ ।’ काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले निर्वाचित सबैलाई बधाई दिँदै सम्मान गरेका थिए ।

कार्यक्रममा महासंघका नव निर्वाचित अध्यक्ष विपुल पोखरेलले सरकारका प्रेसविरोधी कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, काठमाडौं महानगरपालिकाका उप-मेयर हरिप्रभा खड्कीलगायतले आफ्नो धारणा राखेको प्रेस युनियन काठमाडौं शाखा अध्यक्ष जगन्‍नाथ दुलालले जानकारी दिए ।

प्रतिक्रिया