शनिबार, असार २१, २०८२

‘वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकूल वातावरण निर्माण गरिदिन्छ’

नेपालखोज २०७८ वैशाख ७ गते १३:४६

काठमाडौं । गैर आवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ ।

त्यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धतासमेत प्राप्त भइसकेको संघले जनाएको छ । फण्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्री पौडेलले गैर आवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने मात्रै भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दुत भएर काम गर्न सुझाव दिए । यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणाली मार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउने तर्फ ध्यान दिन पनि आग्रह गरे । वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकुल वातावरण निर्माण गरिदिने प्रतिवद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गरे ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडिदेखि लगानी गर्दै आएको भए पनि सन २०१२ देखि सामुहिकरुपमा लागनी भित्र्याउन शुरु गरेको बताए । अहिले पनि १० अर्ब रुपैयाँ समुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम शुरु गरिएको उनले बताए ।

केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे । गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट शुरु भएको फण्डलाई १ खर्ब पुर्‍याउने योजना रहेको पनि बताए । सो फण्डमार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताए । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि उनले बताए ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जालगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गरिनेछ ।

प्रतिक्रिया