संवादहीनता र कारबाहीको बाटोबाट समस्या समाधान हुँदैन : गोकर्ण विष्ट

नेपालखोज २०७८ वैशाख ७ गते १६:२९

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण बिष्टले संवादहीनता र कारबाहीको बाटोबाट समस्या समाधान नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताको पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथी हुन्छ।’

साथै उनले एकता पूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँत्याएर विधिमार्फत् समाधान खोज्न पनि आग्रह गर्दै नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेताहरुलाई स्पष्टीकरण सोधेपछि विष्टले पार्टीभित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्नुपर्ने बताउँदै लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधान गर्न संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ ।’

‘एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु,’ बिष्टले अगाडी लेखेका छन, पार्टी एकताको रक्षा गरौं ।’

प्रतिक्रिया