सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी अलमलमा

नेपालखोज २०७८ वैशाख ७ गते १८:१६

काठमाडौं । नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे अलमलमा देखिएको छ । पार्टी कार्यालय कोटेश्वरमा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिनेबारे कुनै निर्णय गरेन । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई पार्टीको समर्थन नरहेको तर औपचारिकरुपमा लेखेर दिन मात्रै बाँकी रहेको बताए ।

ओली सरकार ढाल्न नेपाली कांग्रेस, जसपालगायत दल एकमत रहेको भन्दै उनले नयाँ सरकार गठनका लागि छिटै निर्णय हुने दाबी गरे । यसैगरी सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेको भन्दै पार्टीले भर्त्सनासमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले केपी ओली नेतृत्वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम भएको ठहर गरेको छ । बाह्य हस्तक्षेप आमन्त्रण गरिरहेकाले ओलीलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको बैठकको ठहर छ । प्रवक्ता श्रेष्ठले थप एजेन्डामाथि भोलि (बुधबार) दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने बताए ।

प्रतिक्रिया