शुक्रबार, वैशाख ७, २०८१

युनिसेफको सुझाव निर्देशिका- कोरोनाको खोप लगाउनु अघि र पछि के गर्ने ?

नेपालखोज २०७८ वैशाख ८ गते १२:२०

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसंगै विश्वभर खोप उत्पादन तिब्र पारिएको छ भने करिब सबै देशले कोभिडबिरुद्धको खोपलाई विशेष प्राथमिकतामा राखेर अभियान नै संचालन गरिरहेका छन् । यसक्रममा खोपप्रति आम मानिसहरुको चासोसमेत बढेको छ ।

कोरोनाविरुद्धको खोप लगाएपछि हामीले आफूलाई मात्र होइन, आफ्नो परिवार तथा वरपरका मानिसहरुलाईसमेत सुरक्षित राख्न सक्छौं । त्यसो त कोरोनाको खोपलाई लिएर कतिपय मानिसमा सशंय पनि छ । चिकित्सकहरुले भने सरकारले सिफारिस गरेका खोपहरु लगाउँदा खासै ससकिंत भैरहनु नपर्ने बताउँदै आएका छन् ।

यसबीच युनिसेफका स्वास्थ्य विशेषज्ञहरुले खोप लगाउनुअघि, खोप लगाउने क्रममा तथा खोप लगाइसकेपछि के–के कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने सम्बन्धमा एउटा सुझाव निर्देशिका नै तयार पारेका छन् ।

खोप लगाउनुअघि

खोप लगाउनुअघि आफुसँग केही आधारभुत जानकारी हुनुपर्छ । जस्तो ः कुनै पनि खोपले शरीरमा कसरी काम गर्छ ?

एउटा खोप अर्को खोपभन्दा कसरी फरक छ ?

कस्ता व्यक्तिलाई कुनै विशेष खोप नलिने सल्लाह दिइन्छ ? आदि ।

साथै खोपका बारेमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन अथवा युनीसेफ जस्ता विश्वसनीय संस्थामार्फत दिइएको जानकारी मात्र विश्वास गर्नुपर्छ ।

खोप केन्द्रमा

खोप केन्द्रमा जाँदा राम्रोसँग मास्क लगाएर जानुपर्छ, अर्थात नाक तथा मुख राम्ररी छोपिएको हुनुपर्छ ।

खोप लगाउन जादाँ आफ्नो परिचय पत्र, पहिलो पटक खोप लगाइसकेको छ भने खोप लगाउँदा दिइएको कार्ड आदि अनिवार्य रुपमा लिनु पर्छ ।

खोप केन्द्रमा खुकुलो अथवा आधा बाहुला भएको कपडा लगाएर जानु पर्छ । ताकि स्वास्थ्यकर्मीले खोप लगाउन सजिलो होस् । यदि पहिलेदेखि नै कुनै औषधि सेवन गरिरहनु भएको छ भने अथवा आफुमा स्वास्थ्य सम्बन्धि कुनै समस्या छ भने स्वास्थ्यकर्मीलाई त्यसका बारेमा जानकारी दिनुुपर्छ ।

खोप लगाउनुअघि कोरोनाको लक्षण देखियो भने ?

यदि आफुलाई कोरोना भएको छ अथवा खोप लगाउने दिन नै कोरोनाको लक्षण देखियो भने खोप लगाउने कार्य तत्कालका लागि रोक्नु पर्छ । लक्षण देखिएपछि खोप केन्द्र पुगियो भने आफुमा भएको भाइरस अरुमा सर्ने सम्भावना हुन्छ । यस्तो स्थितिमा कोभिडमुक्त भएपछि खोप लगाउनुपर्छ ।

खोप केन्द्रमा ध्यान दिनुपर्ने कुराहरु

खोप केन्द्रमा आफ्नो पालो पर्खिने क्रममा पनि मास्क खोल्नु हुँदैन । मास्कलाई पटक – पटक छुने गल्ति गर्नु हुँदैन । मासिनहरुबाट कम्तिमा एक मिटरको दुरीमा बस्नु पर्छ । ढोकाको ह्यान्डिल, भुईं, फर्नीचरआदि छोएपछि हात धुनु अथवा सेनिटाइजर लगाउनु पर्छ । आफ्नो अनुहार, आँखा आदि छुने गल्ति गर्नु हुँदैन ।

खोप लगाउँदा ध्यान दिने कुरा

खोप लगाउने क्रममा हल्का दुख्न सक्छ, जुन स्वभाविक हो । यदि तपाईंलाई केही डर लागेको छ भने पनि दिमागमा के कुरा राख्नु पर्छ भने यो हल्का दुखाइले नै आफ्नो जिन्दगी बचाउन सक्छ । इन्जेक्सनतर्फ नहेरी बिस्तारै सास फेर्नु पर्छ ।

खोप लगाएपछि ध्यान दिने कुरा

खोप लगाइ सकेपछि केही साइड इफेक्ट देखिनु सामान्य कुरा हो । ती साइड इफेक्टले के जनाउँछन् भने तपाईंको शरीरले इम्यून प्रोटेक्शन बनाउने काम गरिरहेको छ । खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, चिसो अनुभव हुने अथवा हल्का ज्वरो आउने, थकान हुने, टाउको दुख्ने, जोर्नि अथवा मांशपेशिको पिडा खोपका केही सामान्य साइड इफेक्ट हुन्, जुन केही दिनमा आफैं ठिक हुन्छ ।

खोप लगाएपछि कतिपयमा गम्भिर साइड इफेक्टहरु पनि देखिएको छ । जस्तै उच्च ज्वरो, बेहोशी, उल्टी, एलर्जी, सास फेर्न गाह्रो हुने आदि । यदि तपाईंलाई यी मध्ये कुनै लक्षण देखियो भने तुरुन्त स्वास्थ्यकर्मीसंग सम्पर्क राख्नु पर्छ । खोपको गम्भिर साइड इफेक्ट देखिन ३० मिनेटसम्म लाग्न सक्छ, त्यसैले खोप लगाएको कम्तिको ३० मिनेट खोप केन्द्रमै बस्ने सल्लाह दिइन्छ, जसलाई अब्जर्भेसन पीरियड भनिन्छ ।

दोस्रो डोज लिन नभुलौं

खोप सेन्टरबाट निस्कनु अघि खोपको दोस्रो डोजको मितिका सम्बन्धमा जानकारी लिनु पर्छ । पहिलो डोजको चारदेखि आठ हप्तापछि दोस्रो डोज लगाउन बिर्सनै हुँदैन । पहिलो डोजमा केही बढी साइड इफेक्ट अनुभव गर्नु भएको छ भने पनि दोस्रो डोज लिनै पर्छ । यदि तपाईंका चिकित्सकले गम्भिर लक्षणलाई ध्यानमा राख्दै दोस्रो डोज नलगाउने सल्लाह दिए भने मात्र दोस्रो डोज नलिएपनि हुन्छ ।

खोप लगाएर घर पुगेपछि

खोपको साइड इफेक्टले केही दिनसम्म आफ्नो दिनचर्यालाई नै प्रभावित तुल्याउन सक्छ । बढि भन्दा बढि झोल खानेकुरा खानु पर्छ । खोप लगाएको ठाउँमा दुख्यो भने चिकित्सकले पारासिटामोल खाने सल्लाह दिन्छन् । यदि साइड इफेक्ट एक हप्ताभन्दा बढी समय रह्यो भने स्वास्थ्यकर्मीलाई त्यसको जानकारी गराउनु पर्छ । खोप लगाएको पाखुराको पिडाबाट राहत प्राप्त गर्न उक्त स्थानमा चिसो सफा कपडा बाँध्न सकिन्छ ।

सुरक्षामा विशेष ध्यान

खोप लगाएपछि पनि आफ्नो स्वास्थ सुरक्षामा पूर्ण ध्यान दिनु पर्छ, किनभने कुनै पनि खोप शतप्रतिशत सफल मानिएका छैनन् । त्यसैले कम्तिमा २० सेकेण्ड हात धुने, सेनिटाइजर प्रयोग गर्ने जस्ता नियमको पालनालाई निरन्तरता दिनुपर्छ भने सामाजिक दुरी कायम गर्नु पर्छ, मास्क लगाइरहनु पर्छ । खोप लगाएपछि अरुसँग आफ्नो खोप अनुभव साटदै उनीहरुलाई पनि खोप लगाउन प्रोत्साहित गर्न सकिन्छ ।

प्रतिक्रिया