बुधबार, वैशाख २६, २०८१

गौरिका बनिन् एसियाकै प्रभावशाली !

नेपालखोज २०७८ वैशाख ८ गते १२:२८

काठमाडौं । पौडी खेलाडी गौरिका सिंह ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

नेपाली पौडीमा गौरिकाले सात वर्षयता सनसनीपूण प्रदर्शन गरिरहेकी छन् । ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन्,’ फोर्ब्सले लेखेको छ, ‘उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई-अगस्त २०२१ मा हुँदै छ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्‍भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायक/गायिकासहित मनोरञ्‍जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

‘खुसी छु’
फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘अत्यन्तै खुसी छु । फोर्ब्स थर्टी अन्डर ३० एसियाको क्लास अफ २०२१ मा छनोट भएको घोषणा गर्न पाउँदा एकदमै खुसी छु । म खेलकुदमा महिला र मेरो देश दुवैको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।’ गरिमा राणा र पारस सिंहका पहिलो सन्तान गौरिका स्वदेशमा जन्मिएपछि लन्डनमा हुर्किइन् र उतै स्विमिङ करिअरलाई अगाडि बढाएकी हुन् ।

प्रतिक्रिया