पार्टीभित्र गुट बनाएर भागबन्डा हुँदैन – ओली

नेपालखोज २०७८ वैशाख ९ गते १३:४१


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् । पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन्

उनले भने ‘सकेसम्म साथिहरुलाई, हरेकलाई हामी गल्ति महसुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरी बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी खाेलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाई बुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन, नगरा पिटाएका हुन । हाम्रा विरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्रा विरुद्ध भएको छ । तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिँड्दा पनि अहिले सम्म हामी कारबाही नगरेर सम्झाई बुझाई गर्ने प्रयास गरिराखेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाईबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस भन्ने कुरामा छ ।’

पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पारे । अनुशासन हिनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताए। अनुशासनहिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन नसकिने बताए । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टी भित्र गुट बनाएर भागवण्डा नचल्ने बताए । उनले भने ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासन हिनता पनि चल्ने, यस्तो खालको ठाउँ चाहिं होइन । पार्टी अनुशासित बनाउनुपर्छ । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौं । हामी अनुशासन हिनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन सक्दैनौं । त्यसकारण मैले भनेको छु व्यक्तिगत तवरमा कुराकानी हुन सक्छ व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत कुरामा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रुपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने यस्ता भागबण्डाहरु अब उपरान्त पार्टीमा चल्दैन ।’

कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताए। संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताए ।

प्रतिक्रिया