स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर पेसागत कर्तव्य पूरा गर्न महासंघको आग्रह

नेपालखोज २०७८ वैशाख ९ गते १८:०४

काठमाडौं । नेपाल पत्रकार महासंघको पदाधिकारी बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिएको सन्दर्भमा सञ्चार क्षेत्रले गर्नुपर्ने पूर्व तयारीका बारेमा विभिन्न निर्णयहरु गरेको छ ।

महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । सञ्चारगृहलाई पनि कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन महासंघले आग्रह गरेको छ ।

समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम प्रयोग गर्दै सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई महासंघले आग्रह गरेको छ ।

महासंघले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गर्दा सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आकलन गर्दै महासंघले समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिवहरु पवन आचार्य र नारायण सुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरु रहेको समिति गठन पनि गरेको छ ।

त्यस्तै कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न महासचिव रोसन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईँ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरु शन्तराम बिडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल, कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको छ ।

बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौतीहरु सामना गर्न महासंघको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रियरुपमा काम गर्न पनि निर्देश दिएको छ ।

प्रतिक्रिया