कोभिड संक्रमण प्रभावकारीरुपमा नियन्त्रण गर्न सरकारलाई सुशासन समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकारले गम्भिरता नदेखाएको भन्दै प्रभावकारीरुपमा रोकथाम र नियन्त्रणका लागि सरकारलाई निर्देशन दिएको हो ।
समितिले यसअघि पटक-पटक दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । भारतमा तिव्र गतिमा कोभिड–१९ संक्रमण फैलिरहेको र भारतमा रहेका नेपालीहरु नेपाल फर्किने क्रम बढेकाले सीमानामा कोरोना परिक्षणको व्यवस्था गरी रिपोर्ट नआउञ्जेल होल्डिङ सेन्टरमा राख्ने र नेगेटिभ रिपोर्ट आउनेलाई न्यूनतम दश दिन क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।
संक्रमितलाई आइशोलेसनमा राख्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टीन र आइशोलेसन केन्द्रहरु महिलामैत्री हुनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताए । हवाईमार्गबाट स्वदेश फर्किनेहरुको हकमा विमानस्थल नजिकै क्वारेन्टीन वा होल्डिङ सेन्टर निर्माण गरी कम्तिमा १० दिन होल्डगरी राख्ने र कोभिड–१९ को परिक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने पनि समितिको ठहर छ ।
त्यस्तै बजारमा कृतिम अभाव सिर्जना गरि दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि र कालोबजारी हुने भएकाले बजार अनुगमन गरी दोषी उपर कारबाही गर्न समितिले निर्देशन दिएको छ । त्यसैगरी कोभिड–१९ को दोस्रो लहरपछि उत्पन्न परिस्थितिको सामना गर्न केन्द्रीकृत एवम् रणनीतिक कार्ययोजनाको निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहयोग र सहकार्यका लागि सरकारको पहलकदमीमा सबै राजनीतिक दल, जनस्वास्थ्यविद् र सरोकारवालाको सहभागितामा सर्वपक्षिय उच्चस्तरिय समिति÷कार्यदल तथा अनुगमन समिति निर्माण गर्न समेत समितिले निर्देशन दिएको छ ।
हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ रोकथामका लागि सहयोग, समन्वय, सहजिकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि समेतको सहभागितामा अनुगमन समिति निर्माण गर्न निर्देशन दिएको छ ।
कन्ट्याक्ट ट्रेसिङ तथा पीसीआर परीक्षणको कार्यलाई सरल र छिटो बनाउनका लागि घुम्ति शिविरहरु सञ्चालन गर्नुपर्ने, प्रत्येक जिल्लामा कम्तिमा एकवटा सुविधासम्पन्न पीसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी सिमा नाकामा डेडिकेटेड मेडिकल टिम र डेडिकेटेड सेक्युरिटी टिम निर्माण गरी सिमा नाका व्यवस्थित गर्नुपर्ने, शहरी क्षेत्रमा हुने आवतजावतमा कडाई गरी सुरक्षाको मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने र संक्रमण नभएको गाउँलाई अहिलेदेखि नै संक्रणबाट बचाउन ध्यान दिनुपर्ने पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया