एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल र गौतम पक्ष सहभागी नहुने

नेपालखोज २०७८ वैशाख १० गते ९:१७

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको समूह र नेता वामदेव गौतम पक्ष सहभागी नुहने बुझिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीबार राती भएको भेटमा गौतमले बैठकमा नआउने बताइसकेका थिए । विहीबारै नेता नेपालले पनि ओलीसँगको कुराकानीमा कुनै प्रगति नभएको प्रतिक्रिया दिएका थिए ।

आजको बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने अनुमान छ । त्यसैले आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक पनि नेपाल पक्षले बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ओली समूहले नेपाल समूहलाई पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप लगाउँदै आएको छ । यहीबीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली झन् रुष्ट भएका छन् । बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने नेताहरुलाई पनि कारबाहीको निर्णय हुन सक्ने एक नेताले बताएका छन् ।

प्रतिक्रिया