करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर देशका फरक-फरक ठाउँमा दुई जनाको मृत्यु भएको छ । बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ ।
गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो । उनलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो ।
त्यस्तै बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर १ सडिलकी ४३ वर्षीया उजलीदेवी बोहराको घर नजिकैको बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार बिहान खेतमा गहुँ काट्न जाने क्रममा पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको उनका आफन्तले बताएका छन् । बिहीबार राति परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर करेन्ट पोलमा प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र यादवले बताए ।

प्रतिक्रिया