निजी आवास क्षेत्रको पुनर्निर्माण ९३ प्रतिशत : प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताए । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए ।
त्यस्तै पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि बताए । यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए । निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुको सम्बोधन गरिएको पनि बताए ।
भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहिन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि बताए ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने पनि सिईओ ज्ञवालीले बताए ।
सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पुनर्निर्माण सम्पन्न भई गत वर्षदेखि सञ्चालनमा आइसकेको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहलय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार गर्नेकार्य जारी रहेको सिईओ ज्ञवालीले बताए ।
क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् ।

त्यस्तै १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको र २ सय ९६ को पुनर्निर्माणजारी छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सुरक्षा निकायका २ सय १६ संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यसबाहेक सडक तर्फ ७ सय ६२ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटर सम्पन्न भएको सिईओ ज्ञवालीले बताए ।
पुनर्निर्माणका लागि दाता सम्मेलनमार्फत छिमेकी मुलुकहरु तथा मित्रराष्ट्र तथा गैरसरकारी संस्थाहरुबाट प्रतिबद्धता प्राप्त भएको ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंक तर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकार तर्फ स्रोतान्तर भएकोले वास्तिविक प्रतिबद्धता २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र भएको सिईओ ज्ञवालीले स्पष्ट पारे ।
यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको बताए । गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि समझौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ ।

प्रतिक्रिया