शनिबार, जेठ ५, २०८१

एनआरएन डेभलपमेन्ट फन्डको रकम पूर्वाधारमै लगानी गर्छौं : अध्यक्ष पन्त

नेपालखोज २०७८ वैशाख १० गते १७:३६

काठमाडौ । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रुपैयाँ पुँजी भएको ‘एनआरएन डेभलपमेन्ट फन्ड’को रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभइ पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज (शुक्रबार) आयोजना गरेको अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको दाबी गरे ।

पूर्वाधार तथा उत्पादनशीललगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको नौ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।

गैरआवासीय नेपालीलाई लक्षित गरी छिटै कोषको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने योजना रहेको पनि अध्यक्ष पन्तले बताए । जसअनुसार आठ अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) ल्याउनेछ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो । जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने अध्यक्ष पन्तको भनाइ थियो ।

आईपीओ सार्क मुलुकबाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने पनि उनले बताए । ´यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १७० वटा परियोजनाका प्रस्ताव आएका छन्,’ उनले भने, ‘अबको ५/७ सातामै परियोजना सुरु हुन्छ । संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने होइन, पूर्वाधारमा सदुपयोग हुन्छ ।`

संघले प्रारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र एक वर्षभित्रै लगानीलाई एक खर्ब पुर्‍याउने लक्ष्य राखेको पनि अध्यक्ष पन्तले बताए । परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । ‘१० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पूर्वाधारमै लगानी गरिनेछ,’ उनले भने ।

नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानीसहित गैरआवासीय नेपाली प्रवर्द्धक रहेको कम्पनीमा साढे दुई अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । अध्यक्ष पन्तले भने, ‘संस्थापक एनआरएनहरुले दुई अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइसकेका छन् ।’

प्रतिक्रिया