सोमबार, वैशाख ३१, २०८१

एनएसएलको तयारी पूरा, विजेताले ३५ लाख रुपैयाँ पाउने

नेपालखोज २०७८ वैशाख १० गते १८:२३

काठमाडौं । काठमाडौंमा भोलि (शनिबार) देखि आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोसमेत जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुत पनि सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दियो । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भए पनि प्रतियोगिता आयोजना हुने बताए ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शकबिना सञ्‍चालन हुनेछ ।

यस्तै प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलिबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउन्ड रोबिनका आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछ । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही एक लाख रुपैयाँ पाउनेछन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार पाउनेछन् ।

प्रतिक्रिया