नक्कली भ्याटबिलमार्फत राजश्व छल्ने १३ कम्पनीविरुद्ध मुद्धा दर्ता

काठमाडौं । झुठा तथा नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छल्ने १६ जनाविरुद्ध दुई अर्ब १९ करोडको बिगोसहित कैद माग गर्र्दे मुुद्धा दायर भएको छ ।
राजश्व अनुसन्धान विभाग हरिहर भवन पल्चोकका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट बिल) प्रयोग गरी राजस्व छली गर्ने सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नं. १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिलकुमार गुप्ता तथा सर्लाही स्थायी ठेगाना भई हाल कुलेश्वरमा रहेको अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतोसमेत गरि १३ फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुबाट दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार छ सय १४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी आज (शुक्रबार) उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको हो ।
विभागका अनुसार प्राप्त सबै प्रमाणबाट अनिलकुमार गुप्ता एवं प्रविणकुमार महतोसहित १३ वटा फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुट्टा विक्री बिजक जारी गरी उक्त फर्महरुबाट कर बिजक बमोजिमको रकम भुक्तानी लिई सो बिजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आय करसमेतको राजस्व चुहावटको कसुर गरेको देखिएको छ ।
सो अनुुरुप ति प्रतिवादीहरुले राजस्व चुहावट ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट ऐन, २०५२ को दफा २ (छ १) बमोजिम कायम भएको मूल्य अभिवृद्धि करतर्फ ६४ करोड ५० लाख ९७ हजार ८ सय ७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७ सय ४२ रुपैयाँसमेत गरी कुल २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६ सय १४ रुपैयाँँ राजस्व चुहावट गरेको छ ।
उक्त कसुर अपराधमा राजस्व चुहावट ऐन, २०५२ को दफा २३ बमोजिम विगो रकम दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार ६ सय १४ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजायको माग दावी गर्दै शुक्रबार उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया