हाम्राे देश हामीले नै बनाउने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन समाराेहमा बाेल्दै हाम्राे देश हामीले बनाउने हो र हामी बनाउन सक्छौं भनी बताएका छन् । उनले आफूलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन आफैँले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने पनि उल्लेख गरे । उनले सरकार त्यही बाटोमा हिँडेकाे समेत बताएका छन् ।
उनले नवनिर्माणको खुसियालीमा आज साँझ दीपावली गर्नसमेत आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले महा-भूकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउने गरी प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे।
वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्तर्गत कोही पनि भोकै नरहने गरी नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिबद्धता जनाए। उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याए।
‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौँ। नेपाली भिख माग्ने होइन दाता जाति हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ। हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रूपमा उभ्याउनुपर्छ’,प्रधानमन्त्री ओलीले भने।
।
सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए। उनले ३९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिञ्चाइका कामलगायत विकास निर्माणका कामहरू भइरहेको बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरू कमजोर हुँदै गएको बताए। नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू, दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरू कमजोर हुने उनको जोड थियो।
प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र सुदृढ हुँदै गएको छ। लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरू कमजोर हुँदै गएका छन्। र विभिन्न प्रकारले देश, जनता , विकास, सम्मृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरू छटपटाइरहेका छन्।’
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रूपमा बनाउन लागियो भन्ने भनाइमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रूपमा धरहरालाई कायम राखिने आश्वासन दिए।
उनले भूकम्पको ६ वर्ष पुग्दै गर्दा पुनर्निर्माणका कामहरू प्रभावकारी ढंगले भएको बताए। उहाँ ९३ प्रतिशत व्यक्तिगत घरहरूको निर्माण कार्य सकिएको पनि जानकारी दिए।

प्रतिक्रिया