शनिबार, वैशाख १३, २०८२

सामुदायिक वनले एक हजार ४०० भवनलाई क्वारेन्टिनका लागि दिने

नेपालखोज २०७८ वैशाख ११ गते १४:४९


काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीब विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गका लागि स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न तथा सरसफाइको सामग्री सहयोग गर्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा नगद सहयोग गर्ने जस्ता अभियान चलाउने निर्णय गरेको छ ।

कुनै पनि विपद्मा सहयोग गर्दा अशक्त महिला, गरीब, वृद्ध, दलित, आदिवासी तथा पछाडि पारिएका वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी आफ्ना सबै संरचना परिचालन गर्नेसमेत निर्णय भएको सचिव ठाकुर भण्डारीले जानकारी दिए।

कोरोनाको महामारी पुनःबढेका कारण जनजीवन प्रभावित भएको ठहर गर्दै महासङ्घले यसका विरुद्धमा लड्न र सङ्कटमा सरकार र जनतालाई साथ दिन सामुदायिक वन र महासङ्घले सशक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया