पृथ्वी सुब्बालाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी

पोखरा । नेकपा एमाले ओली समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुनः गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । एमाले स्थायी समिति सदस्यसमेत रहेका गुरुङ यसअघि साविक नेकपाको पनि प्रदेश इन्चार्ज थिए ।
प्रदेश सह–इन्चार्जको जिम्मेवारी तीन जनाले पाएका छन् । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघीय सरकारको कृषिमन्त्री पद्मा अर्याल र लिलबहादुर थापा मगरलाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्री गुरुङलाई बैदेशिक रोजगार सम्बद्ध संगठनहरुको इन्चार्जसमेत तोकिएको छ । मन्त्री अर्यालले भने सहइन्चार्जका साथै कृषि तथा भूमिसुधार विभाग प्रमुखको जिम्मेवारी पनि पाएकी छन् ।
त्यस्तै, एमालेले जगत विश्वकर्मालाई गण्डकी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी तोकेको छ । विश्वकर्मालाई पर्वत जिल्ला इन्चार्ज समेत बनाइएको छ । प्रदेश सचिवको जिम्मेवारी दिइएको गोबिन्दबहादुर नेपालीलाई मुस्ताङ इन्चार्ज पनि तोकिएको छ ।
यसैगरी, कास्की इन्चार्जमा मानबहादुर जिसी, तनहुँ इन्चार्जमा एकबहादुर रानामगर, म्याग्दी इन्चार्ज भुपेन्द्र थापा, बाग्लुङ इन्चार्ज मनाकुमारी केसी, लमजुङ इन्चार्ज मायानाथ अधिकारी, स्याङ्जा जिल्ला इन्चार्जमा सिताकुमारी सुन्दास, गोरखा र मनाङ जिल्लाको इन्चार्जमा गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका रामशरण बस्नेत र नवलपरासीपूर्वी जिल्लाको इन्चार्ज तिलबहादुर महत क्षेत्री (तिलक) लाई तोकिएको छ ।

प्रतिक्रिया