गण्डकीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा १५ गतेभित्र मतदान गर्ने सहमति

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा बैशाख १५ गतेभित्र मतदान गर्ने सहमति भएको छ । देशसभाको विशेष बैठक सोमबार बस्ने भए पनि मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदानका लागि भने १५ गतेभित्र मतदान गर्ने सहमति बनेको हो ।
विशेष अधिवेशनको पहिलो बैठकमा कुनकुन विषयमा छलफल गर्ने भन्ने सन्दर्भमा निर्णय गर्न आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले १५ गतेभित्र मतदान गर्ने सहमति गरेको हो ।
बैठकमा पहिलो दिनमै मतदान गर्ने गरी छलफल अगाडि बढाइएको भए पनि पहिलो दिन सबै दलका नेताले बोलेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जवाफ दिने कार्यसूची बनाइएको छ ।
सांसदहरु बोल्ने क्रम पहिलो दिनमै सकिएको अवस्थामा मंगलबार अविश्वास प्रस्ताव उपर मतदान हुने छ । सांसदहरु बोल्ने क्रम लम्बिएको अवस्थामा तेस्रो दिन अर्थात १५ गते अविश्वास प्रस्तावमाथि मतदान प्रक्रियामा जानेगरी कार्यसूची तय गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्ष दलसहितका तीन दलले विशेष अधिवेशन माग गरेबमोजिम प्रदेश प्रमुख अमिक शेरचनले सोमबारका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिक्रिया