‘तपाईंको मास्क खोइ ?’

चितवन । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन मातहतका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । साथै उनिहरूले ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् ।
निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेका छन् । मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए। अधिकांशले मास्क बोकेर पनि नलगाएको पाइएको भन्दै उनले मास्क नै नलिई हिँडेकालाई प्रहरीले नै मास्क दिने गरेको बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उनले बताए ।
देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबैभन्दा बढी जोखिममा भएपछि यहाँ मानिसको भीडभाड हुने कुनै पनि गतिविधि हुन दिइएको छैन । यहाँका विद्यालयसमेत वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिसकेको छ ।
रासस

प्रतिक्रिया