शनिबार, वैशाख १३, २०८२

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव,संक्रमितहरुले उपचार पाएनन्

नेपालखोज २०७८ वैशाख १३ गते १४:५९

भेरी । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् ।

गत बर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको जनाईएको छ ।

भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको छ । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिएपनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेछ ।

कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन् ।

अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ । भर्ना भएका विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताए।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ ।

केही होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया