बिहीबार, वैशाख १३, २०८१

कोरोना, दुनियाँ र मनुष्य !

सुनील सापकोटा २०७८ वैशाख १३ गते १५:१३

अहिलेको नयाँ भेरिएन्टको कोरोना भाइरस कडा छ । छिमेकी देश भारतमा त यो अहिले भयावह अवस्थामा छ । दिनहुँ तीन लाखको हाराहारीमा भारतीयहरु त्यहाँ कोरोना संक्रमित भइरहेका छन् । अढाइ-तीन हजारको संख्यामा त्यहाँ मानिस मरिरहेका छन् । चारैतिर त्यहाँ अहिले लकडाउन छ ।

यहाँ नेपालमा पनि कोरोना महामारी तीव्र गतिमा फैलिरहेको छ । मलाई लाग्छ लकडाउन मात्र विकल्प होइन । सरकारले मात्र केही गर्न सक्दैन । जनता पनि सचेत हुनुपर्‍यो । जागरुक हुनुपर्‍यो । लकडाउन मात्र गर्दा कति दिन गर्ने ?

कोरोनापछिको विश्वको स्वरुपमै परिवर्तन होला । विभिन्न क्षेत्रका विशेषज्ञ वा विद्वान्‌हरुको कुरा सुन्दा वा पढ्दा कोनोना रोकथाम हुन ढिलो भयो भने दुनियाँको खाका नै परिवर्तन हुनेछ भन्छन् । यदि भ्याक्सिनले पनि रोकथामको राम्रो काम गरेन भने दुनियाँका विभिन्न देशको आर्थिक स्थिति परिवर्तन हुनेछ । कोरोनापछिको नेतृत्व कसले लिने भन्ने होडबाजी हुनेछ । प्रकृतिमा भारी परिवर्तन आउँछ । नदी, हावा-पानी, जानवर र वनस्पतिजगत्‌ले आफ्नो स्वभाव बदल्नेछन् । मानिसहरुको संवेदनाहरु बदलिन्छ । बानीहरु बदलिन्छ । मानिसहरुबीचको सम्बन्धहरु बदलिन्छ, नातागोताहरु बदलिन्छ । मनुष्यको सारा घमण्डहरु एउटा सूक्ष्म भाइरसले चकनाचुर पार्नेछ ।

दुनियाँको अर्थ व्यवस्थामा व्यापक फेरबदल हुनेवाला छ । कलकारखाना, उद्योग व्यापारहरु पहिलाजस्तो चल्ने छैन । दुनियाँमा बेरोजगारी बढ्छ । सेयर मार्केटमा व्यापक गिरावट आउँछ । खाद्यान्न संकटले भोकमरी फैलिन्छ । स्कुल, कलेजहरु, होटेलहरु, मनोरञ्‍जन घरहरु र प्रिन्ट मिडियाहरु बन्द हुन्छन् । यातायातका साधनहरु कम चल्छन् । भोज-भतेर, आमसभा, भेलाहरु हुँदैन । अब सबैजसो काम-कुराहरु इन्टरनेट सिस्टमको मातहतमा जान्छ ।

यो कोरोनालाई छिट्टै नियन्त्रित गर्न सकिएन भने यस्ता हजारौं समस्याहरु हाम्रोसामु आउनेछन् । मन्दिर वा अन्य धार्मिक स्थलहरु, स्कुल कलेजहरु, सभागृहहरु, सिनेमा हल र थिएटर गृहहरु बिस्तारै-बिस्तारै कोरोना अस्पतालमा परिणत हुँदै जान्छन् । समाजमा चोरी, डकैती, लुटपाट, हिंसा र अराजकता, फैलिँदै जाने खतरा छ । मानिसहरुमा असुरक्षाको भावनाहरु, मनोरोगहरु, घरायसी झगडाहरु बढ्दै जान्छन् । परिवारका सदस्यहरुमै विश्वासको संकट आउनेछ । व्यक्तिगत स्वर्थहरु हावी हुँदै जानेछन् ।

त्यसैले यो लकडाउनका बेलासम्म कोरोना महामारीले ल्याउन लागेको भयावह संकटको घडीमा आपसी व्यक्तिगत दूरी बढाए पनि सामाजिक र पारिवारिक दूरी नबढाइ समाजमा एक-अर्कामा बोलचाल, खोजखबर र सहयोगको भावना जरुरी राख्नुपर्छ । आत्मबल र धैर्यता बढाउने साधनहरु, योग, व्याम, ध्यान, गीत, संगीत, अध्ययन, साहित्य सिर्जना र अन्य कलाहरुको सिर्जना गर्ने र टीभी, नेट चलाउनुका साथै घरायसी काममा आफूलाई जति व्यस्त राख्यो त्यति राम्रो हुनेछ ।

प्रतिक्रिया