विदेशबाट आउनेले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने
नेपालखोज
२०७८ वैशाख १३ गते २०:४१

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले एक साता लामो निषेधाज्ञा जारी गरेसँगै देशकै अन्य जिल्ला र विदेशबाट आउनेले पनि अनिवार्य क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।
काठमाडौं उपत्यकाका तीनवटै स्थानीय प्रशासनले आगामी १६ गतेदेखि २२ गतेसम्म एक साता लामो निषेधाज्ञा जारी गरेसँगै कडा नियम लागू गरिएको हो।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एउटा आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने नियम ल्याएका हुन्।
प्रजिअ पराजुलीले क्वारेन्टाइन स्थानीय तहले तोक्ने पनि बताएका छन्। सोमबार मात्रै काठमाडौंका तीन जिल्लामा १९ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्ला कोरोनाको हटस्पट बनिसकेको छ।
सम्बन्धित
प्रतिक्रिया