काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बिहीबारदेखि निषेधाज्ञा आदेश लागू हुने भएपछि घर फर्किनेको संख्या बढेको छ । महानगरिय ट्राफिक प्रहरीका अनुसार आज बिहानैदेखि काठमाडौं छाड्नेहरुको भिड लागेको छ ।
काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भिड लागेको हो । गएराति बसेको मन्त्रिपरिषद् बैठकले वैशाख महिनाभर काठमाडौं उपत्यकाका ३ वटै जिल्लामा निषेध आदेशको निर्णय गरेको थियो । बिहानैदेखि लामो तथा छोटो दूरीका यात्रुहरुको बसपार्कहरुमा भिड देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले अघिल्ला दिनहरुको तुलनामा ठूलो संख्यामा यात्रुहरु बसपार्कहरुमा जम्मा भएको जानकारी दिए । निषेध आदेशसँगै उपत्यकामा अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन्। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै सरकारले १५ दिनका लागि पहिलो चरणमा निषेध आदेशको निर्णय गरेको छ ।

प्रतिक्रिया