‘अक्सिजन अभाव हुँदैन, देशभित्रकै उत्पादनले पुग्छ’

नेपालखोज २०७८ वैशाख १४ गते १०:३१

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ ।

भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उनले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताए। अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ ।

सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ । सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले बताए ।

उद्योगीहरुले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन् । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक सङ्घको भनाइ छ ।

प्रतिक्रिया