बालाजु २२ धारा मेला स्थगित

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगित गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले बताए ।
प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी दिवंगत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा रहेको छ ।
बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गर्छन् । सक्नेले नागार्जुनस्थित जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने विधि रहेको छ ।
नसक्नेले बालाजु बाइसधारापछि सिधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ । हाल जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ ।
सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ ।
तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएपछि यसको नाम तेमाल रहन गएको समितिका अध्यक्ष चन्द्रमान लामाले बताए ।
कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै
धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताए। रासस

प्रतिक्रिया