‘जोखिमलाई ख्याल गर्दै कांग्रेस केन्द्रीय समितिको बैठक बसिएन’

नेपालखोज २०७८ वैशाख १५ गते १२:३८

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखिमलाई ख्याल गर्दै कांग्रेस केन्द्रीय समितिको बैठक नबसिएको बताएका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समितिका नेताहरुलाई कोरोना संक्रमण भएका कारण बैठक स्थगित भएको पनि जानकारी दिए ।


आज बस्ने भनिएको बैठक नेताहरुलाई कोरोना संक्रमण भएको बताउँदै स्थागित भएको नेता पाैडेलले जनाए ।


कोरोनाका कारण भिडभाड गर्न पनि नहुने र नेताहरुमा पनि कोरोना संक्रमण देखिनुले बैठक स्थगित गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालखोजलाई जानकारी दिए ।


विश्वभरि फैलिएको कोरोनासँग हेलचक्य्राईं गर्न नहुने पनि पौडेलले बताए । कोरोना महामारीसँग लड्न केहि समय घरमै बस्न पनि पौडेलले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

अहिलेको उत्तम विकल्प भनेको घरमा नै बसेर भिडभाडमा नजाने, हातमुख धुने, संक्रमण भएको मान्छेसँग सामाजिक दूरी कायम गर्नु नै अहिलेको उत्तम उपाय हो भन्दै नेता पौडेलले बैठक स्थगित गरिएको जनाए ।


बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको उनले बताए ।

प्रतिक्रिया